जातिय छुवाछुत एक चुनौती

published date: May 30, 2020


  • -बिष्णु भारती

विश्वमा प्रकृतिले मानव जातीको महिला र पुरुष दुई जातीमा विभाजन गरीदिएता पनि मानव जाती आफैले कृतिम रुपमा विभिन्न समय र कालखण्डमा विभिन्न जात जाती बनाएर बर्गिकरण गरेको पाइन्छ । ढुङ्गे युग देखि नै मानव जाति विकसित हुदै अगाडी बढ्दा एकले अर्कोलाई नियन्त्रण गरेर शासन गर्दै गर्दा विभिन्न बर्ग र समुहको सुरुवाती भएको पाइन्छ ।

प्राचिनकालमा समाज र राज्यको स्थापना गरि अगाडि बढ्ने क्रममा समाज र मानव जातीलाई विभिन्न बर्ग र समुहमा विभाजन गर्दै अगाडि बढ्दै गरेको देखिन्छ । यसरी अगाडि बढ्ने क्रममा सिङ्गो विश्वमा नै विभिन्न जात जातीको स्थापना भएको पाइन्छ । यस सङ्गै नेपालमा पनि लिच्छिवि काल देखि बिविध जात जातीहरुको स्थापना गरिएको र मल्ल राजाहरु (जयस्थिति मल्ल, महिन्द्र मल्ल) ले त्यसलाई प्रसय दिदै अगाडि बढेको इतिहास पढ्न पाइन्छ । परापुर्बकाल देखिनै यसरी बसालिएको जातिय पर्था-परम्परा र चलन-चल्तिले आजको २१ औ शताब्दीमा तिब्र विकासशिल रहेको मानव जाति र विश्वलाई नै छोड्न सकेको छैन ।

यसरी आजको सिङ्गो विश्व प्रकृतिले दिएको दुई जात महिला र पुरुष हुन भनि अगाडि बढिरहन खोजेको अबस्थामा उहि पुरानो जातिय प्रथा र परम्पराले अगाडि बढ्न नदिई खुट्टा तानिरहेको देख्न सकिन्छ । यसलाई हटाउन र उन्मुलन नै गर्नको लागि सिङ्गो विश्व नै लागि नपरेको भने होइन । विभिन्न समयकालमा बिविध प्रयासहरु गरेको पाइन्छ । जनचेतना मुलक कार्य देखि बिविध आन्दोलन मात्र होइन सन्धि सम्झौता देखि राष्ट्रिय-अन्तराष्ट्रिय कानुनहरु समेत निर्माण गरि लागि परेको देखिन्छ ।

विश्वको धेरै राष्ट्रहरुले यस्ता प्रथा बाट उन्मुक्ति पाएता पनि कतिपय राष्ट्रहरुमा यसले झनै विकराल रुप लिईरहेको पाउन सकिन्छ । जसमा नेपाल पनि एक हो, नेपालमा जातिय बर्गियताको कारण मुख्य समस्यामा आएको छुवाछुत प्रथा हो । अन्य जातिय ब्यबस्थाले खासै असर नपारेको भएतापनि यस प्रथाले ठुलो चुनौतिका साथ नराम्रो असर पर्दै अगाडि बढेको पाउन सकिन्छ ।

यस प्रथालाई उन्मुलन नै गर्नका लागि सिङ्गो विश्वनै एक भएर कानुनि रुपमै अगाडि बढेको बुझ्न सकिन्छ । जसको लागि सयुक्त्त राष्ट्र संघले आफ्नो वडापत्र देखि मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र(१९४८) मा समेत यस प्रथालाई उन्मुलनका लागि बिषेश ब्यबस्थाहरु गरिएको पाइन्छ । साथै सबै किसिमका जातिय भेदभाव उन्मुलन गर्ने महासन्धि(१९६५ ) समेत स्थापना गरि अझै प्रभावकारि भुमिका खेलेको पाइन्छ ।

नेपालमा पनि यस प्रर्थालाई हटाउन संवैधानिक ब्यबस्था देखि विभिन्न ऐन कानुन समेत निर्माण गरि विशेष भुमिका खेलेको पाइन्छ । नेपालको संबिधानमा अन्तराष्ट्रिय महासन्धि अनुसार सबै प्रकारका जतिय बिभेद र छुवाछुत को अन्त्य गरिने छ भन्ने ब्यबस्था गरेको पाइन्छ । त्यस्तै गरि नेपाल सरकारले २०६३ साल जेष्ठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र समेत घोषणा गरी प्रत्येक बर्ष छुवाछुत मुक्त दिवस समेत मनाउदै आएको पाइन्छ । नेपालमा मानव अधिकार आयोग, दलित आयोग लगाएत जातिय भेदभाव (कसुर सजाय) ऐन २०६८, नियमावली २०७३ समेत जारी गरि यस प्रथालाई हटाउन मुख्य भुमिका खेलेको पाइन्छ ।

यसरी समय समयमा विभिन्न प्रयास र कानुन समेत निर्माण गरि जरा गाडि बसेको प्रथालाई हटाउन सिङ्गो विश्व लगाएत सबै राष्ट्रहरु समेत लागि परेतापनि आज सम्म यस प्रथालाई हटाउन नसकि यो प्रथा एक चुनौतीको रुपमा रहेको देखिन्छ ।

यसलाई हटाउनको लागि विभिन्न नियम कानुन, कागजि घोषणाहरु र उपल्लो बर्गले आफ्नो प्रख्याति र फाइदाको लागि दिवस जस्ता कार्यक्रम समेत मनाउदै आएका तर समाजका तल्लो बर्ग सम्म जनचेतना मुलक कार्यक्रमहरु लैजान नसक्दा र कानुन कार्यन्वयनमा समेत उल्लेखनीय भुमिका खेल्न नसक्दा नेपाल सफल हुन नसकेको र यो एक चुनौतीको रुपमा रहेको स्पस्ट रुपमा बुझ्न सकिन्छ ।

नेपालमा संबिधान लगाएत विभिन्न दस्तावेजहरुमा दलितको परिभाषा लगाएत सदाका लागि पहिचान रहिरहने गरि बिविध ब्यबस्थाहरु गरिएको पाइन्छ । यसै पहिचान जोगाउनको लागि विभिन्न समयमा विभिन्न आन्दोलनहरू समेत भैरहेको पाइन्छ । जस्ले जातिय भेदभाव उन्मुलन होइन, जातिय भेदभावले परिचय पाइरहेको भान दिलाउने गरेको पाइन्छ । छुवाछुत र भेदभाव का नाममा बिविध घट्ना काण्डहरुलाई समेत राजनितिकरण गरि राजनिति गर्ने एउटा माध्यम को रुपमा यसलाई लिएको पाइन्छ ।

कुनै पनि कुरा उन्मुलन को लागि त्यस्लाई प्रसय दिने कार्य होइन उखल्ने तिर लाग्नु पर्द्छ । तर याहा त जातिय र छुवाछुत प्रथालाई कहिले नमेटिने गरि परिचय र परिभाषा दिइ संरक्षण गरेको पाइन्छ ।समाजको तल्लो बर्गसम्म चेतनामुलक कार्यक्रमहरु लगि आगामी पिढिंको मानसपटल बाटै उक्त प्रथा हटाउन पर्नेमा त्यसै बिषयलाई राजनितिको प्रथामिक स्रोत मानि अगाडि बढाइएको पाइन्छ । यि-यस्ता प्रकृयाहरुले जातिय छुवाछुत उन्मुलन होइन, झनै जरा गाडेर बस्नको लागि मलजलको कार्य गर्ने गर्दछ । अबको आगामी पुस्ता र समाजलाई यो प्रथा झनै ठुलो अभिसाप भैइ एक ठुलो चुनौतीको रुपमा भारि पर्ने निश्चित छ, तसर्थ यस कुरालाई सबैले मनन गरि अगाडि बढ्न पर्ने आजको पुस्ताको आबश्यकता देखिन्छ ।


Related News