नेपालमा जनजाति आन्दोलन र यसका बाछिटाहरु

published date: July 11, 2020



-बिष्णुसागर पुरी

पृष्ठभूमि

विकासको एउटा जवर्रजस्त र क्रुर नियम नै के हुन्छ भने विकास सधैं एउटै जाति, वंश, भाषा, लिपि र संस्कृतिको मात्रै निरन्तर रूपमा हुदैन । विकासलाई गतिशिल बनाउन विभिन्न तत्वहरूले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । उदाहरणको लागि विश्वमा वेलायती साम्राज्यले आफ्नो आधिपत्य नजमाउदो हो त आज अग्रेंजी भाषाको यति विधि विस्तार कहाँ पो हुने थियो र ? के फेरि विश्वमा वेलायती साम्राज्य मात्रै थियो त ? वेलायती साम्राज्य भन्दा अघि कुनै अरू साम्राज्य शक्ति अस्तित्वमा थिएनन्? अर्को एउटा स्वाभाविक प्रश्न जो कसैको मनमा उब्जिन सक्छ? विश्वमा वेलायत साम्राज्य शक्तिको रूपमा शक्तिमा आउनु भन्दा अगाडि फ्रान्सेली साम्राज्य अस्तित्वमा रहेको थियो । पछिल्लो समय चीन पनि उदीयमान शक्तिको रूपमा देखा परिसकेको छ । यो साम्राज्य शक्ति हुन्छ कि हुदैन? त्यो हाम्रो सवाल होईन तर सवाल यति मात्र हो उदाउदो चिनियाँ शक्तिलाई नजरअन्दाज भने अवश्य पनि कसैले गर्न सक्दैन । माथिको विकास संम्वन्धि सानो उदाहरण त देशहरूको विकास संम्वन्धि भयो । जातिहरूको विकासमा पनि ठीक यहि नियम लागु हुन्छ ।

नेपालको ईतिहास अध्यन गर्दा विभिन्न कालखण्डमा विभिन्न जातिहरूले शासनसत्ता सञ्चालन गरेको तथ्य प्रष्टै संगै बुझ्न सकिन्छ । उदाहरणको लागि किराँतकाल भनेको अहिलेको राई, लिम्वुहरूले नै शासक सञ्चालन गरेका हुन ।समयान्तरमा उनीहरू पछाडि परे जसरी ०६२| ०६३ सालको जनआन्दोलन पछि नेपालको शाहवंशिय राजपरम्पराको समूल अन्त्य भयो । यो एउटा विकासको अति सामान्य नियम हो ।तर कतिपय अवस्थामा यो शाश्वत नियमको विरूद्धमा गएर जनजातिलाई थिचोमिचो गरियो भनी अनावश्यक रूपमा बिषयवस्तुलाई प्रचारवाजी गरी जातिय विद्धेष समेत फैलाउन प्रयत्न नगरिएको कहाँ हो र ? यस्तो गौरवपूर्ण इतिहास बोकेका नेपालको हरेक जातिहरूले बुझ्नु पर्ने तथ्य के हो भने तपाई जनजातिहरू समयान्तरमा पछि परेका हो तर हामीलाई पछि पारियो अरू अघि गए, त्यसैले अरू जाति संगको सौदावाजीले कतै हामी पनि अगाडि गईन्छ कि भनेर कसैले सोच्छ भने कदापि त्यस्तो हुनै सक्दैन । वरू बदलिदो परिवेश संगै जनजातिहरूले आफ्नो क्षमता विश्वमा प्रतिस्पर्धी बन्न सके जनजातिहरूको साच्चिकै उन्नयन हुन्छ ।

मातृभाषामा शिक्षा कति उचित ?

शक्ति संम्बन्ध संग भाषा संस्कृतिको संम्बन्ध नङ र मासुको जस्तै अन्योन्याश्रित हुन्छ । उदाहरणको लागि त्रिभुवन बिश्वबिद्यालयमा नेवारी भाषाको पढाई स्नातकोत्तर तह सम्म नै हुन्छ तर अन्य नेपालको राष्ट्रिय भाषाभाषीको भने स्नातकोत्तर तह सम्म पढाई हुने गरेको तथ्य मेरो जानकारीमा छैन किनकि नेवारहरू जनजातिमा उच्च र सभ्रान्त जाति हो । पूर्वमन्त्री महेन्द्र वहादुर पाण्डेले एउटा रमाईलो कथा सुनाउदै भन्नुभएको थियो : काठमाण्डौ र भक्तपुरको नेवारले मीत लगाएछ । नेवारी भाषामा एउटा ”लाम्जा” भन्ने शब्द हुन्छ । भक्तपुरमा “लाम्जा” को अर्थ ”मासुभात” हुन्छ भने काठमाण्डौमा सोही “लाम्जा” भन्ने शब्दको अर्थ ”भुटेको मकै” भन्ने हुन्छ ।दुईजना काठमाण्डौ र भक्तपुरको नेवारको बीचमा पनि एउटै शब्दको अनेक अर्थ लाग्ने र भाषाको प्रभावकारी सञ्चार गर्न असमर्थ हुने भएकोले मातृभाषामा दिईने शिक्षा सुन्दा जति आर्कषक सुनिन्छ, जीवनयापनका क्रममा यो सहज हुदैन । जनजातिको भाषा संस्कृतिको संरक्षण गरिनुपर्दछ तर महादेवले मृत सतिदेवीलाई वोके झै खाली भाषा संस्कृति मात्रै भनेर हिड्न थाल्यौ भने भाषा संस्कृति संगै जाति नै हराउने जोखिमलाई नकार्न सकिदैन ।

को हुन् मगर र गुरूङहरू ?

नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाह नै मगरका सन्तान हुन भन्ने ईतिहासकारहरूको मत छ ।यसका पछाडि अनेकौ कारणहरू रहेका छन । तिनीहरू मध्ये एउटा महत्वपूर्ण कारण जहाँ जहाँ शाह राजाहरूले आफ्नो कुलदेवता मानी पुजा गर्छन, त्यहाँ त्यहाँ मगर जाति कै पुजारीहरू अहिले पनि रहने परम्परा छ । मामा चेलो र फुपु चेलो बीच बिहेवारी मगर र ठकुरी दुबैको चल्दछ । पृथ्वीनारायण शाहको मावली नै मगर हो भन्ने मत पनि ईतिहासकारहरूको रहेको छ ।
गोरखामा लिगलिगकोटको दौड जितेपछि द्रव्य शाह राजा भएका हुन । त्यो भन्दा अघि घलेरूको राज्य थियो । घले गुरूङको नै थर हो ।यसर्थ, कुनै समय गुरूङहरू पनि राजा थिए । समयान्तरमा उनीहरू शासन प्रक्रियाबाट बाहिरिए ।

विश्वमा आदिवासी जनजातिको अवधारणा कसरी विकास भयो त ?


जब क्रिष्टफर कोलम्वसले अमेरिका पत्ता लगाए, उनले त्यहाँ एउटा मानव जाति समूह देखे, जसको नाम “रेड ईन्डियन” राखे । बिस्तारै बिस्तारै बेलायतले त्यहाँ जेलका कैदी बन्दी पठाउन सुरू गर्यो । हाम्रो तराई तिर पनि यहि प्रक्रियाले मानिसहरू बसाईसराई गरेका हुन । गाँउघरतिर अझै पनि एउटा बहुप्रचलित उखान छ : पहाडको वापति, मधेशको सभापति, वेलायतको वापति नै पछि अमेरिकाको सभापति बनेपछि विश्वका अन्य ठाँऊहरूबाट पनि अमेरिका तर्फ बसाईसराई गर्नेहरूको संख्या तीव्र रूपले वृद्धि भएर गयो । बसाईसराई गर्नेहरूले जब त्यहाको रथाने “रेड ईन्डियन ” हरूको भाषा र संस्कृति माथि प्रहार गरे । उनीहरूले आफुहरू अल्पमतमा परेको महसुस गरे । यहि पृष्ठभूमिको गर्भवाट नै आदिवासी जनजातिको अवधारणा सतहमा आएको हो। नेपालमा पनि यहि ऐतिहासिक तथ्यलाई हुबहुँ उतार्न खोजेको देखिन्छ । खासगरी जनआन्दोलन ०६२\०६३ पछि आदिवासी जनजाति आन्दोलन अझै बढि सशक्त बनेको देखिन्छ । यो आन्दोलन कुनै जातिको बिरोध गर्ने भन्दा पनि आफ्नै भाषा संस्कृति र जातिको उन्नयन एवम् श्रीवृद्धिमा अगाडि बढ्न सकोस् , शुभकामना ।


Related News